
दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट पत्रकार तथा सामाजिक अभियन्ता गोकर्णप्रसाद भण्डारी केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्यतर्फ उम्मेदवार बन्ने भएका छन्।
कालिञ्चोक गाउँपालिका–६ लापिलाङबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका भण्डारी यसअघि १४औँ महाधिवेशनमा समेत खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका थिए। उनी त्यतिबेला थोरै मतले पराजित भएका थिए।
कम्युनिस्टहरूको गढ मानिने लापिलाङबाट कांग्रेस राजनीतिमा सक्रिय भएका भण्डारी लामो समयदेखि पत्रकारिता, सामाजिक अभियान र कांग्रेसको संगठनमा क्रियाशील छन्। जिल्लामा उनी पत्रकारका साथै सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन्।
सानैदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका भण्डारी नेपाल विद्यार्थी संघ लापिलाङ माध्यमिक विद्यालयको इकाई अध्यक्ष, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको इकाई अध्यक्ष, ट्रेड युनियन कांग्रेस दोलखाका सचिव तथा प्रेस युनियन दोलखाको कार्यवाहक अध्यक्ष भइसकेका छन्।
पत्रकारितासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीले दुर्गम क्षेत्रका विद्यार्थी तथा विपन्न परिवारका लागि सहयोग जुटाउने अभियानमा भूमिका निर्वाह गर्दै आएका छन्। कालिञ्चोक गाउँपालिका–६ स्थित गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग जुटाउने अभियानमा उनको पहल रहेको थियो। उक्त अवसरमा विद्यालयले सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई सम्मानसमेत गरेको थियो।
यसअघि विपन्न थामी परिवारका बालबालिकाको सहयोगका लागि समेत भण्डारीले सार्वजनिक रूपमा सहयोगको अपिल गर्दै सहयोग संकलनको पहल गरेका थिए। सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै आएका भण्डारी विभिन्न सार्वजनिक सरोकार र विकासका विषयमा पत्रकारितामार्फत आवाज उठाउँदै आएका छन्।
पत्रकारितामा समेत सक्रिय भण्डारीका सामग्री विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।
लामो समयको पत्रकारिता, विद्यार्थी तथा श्रमिक संगठनको अनुभव र सामाजिक गतिविधिमा आफ्नो सक्रियतालाई आधार बनाउँदै भण्डारीले यसपटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिन लागेका हुन्।