
दोलखा — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा दोलखामा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसैक्रममा कांग्रेसनिकट कानुन व्यवसायी अधिवक्ता खड्गबहादुर बुढाथोकी (सुवास) लाई पेशागततर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने तयारी गरिएको छ।
वाणिज्य कानूनमा स्नातकोत्तर गरेका बुढाथोकी विगत २५ वर्षदेखि कानून व्यवसायमा सक्रिय छन्। उनी डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA Nepal) का पूर्व केन्द्रीय सचिव तथा सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य हुन्।
कानून तथा नीतिगत विषयमा अनुभव हासिल गरेका बुढाथोकीले वित्तीय सुधार, कानून निर्माण तथा दोलखाको जलविद्युत् विकास र लगानी प्रवर्द्धनका क्षेत्रमा समेत योगदान पुर्याउँदै आएका छन्। नेपाली कांग्रेसको विधान संशोधन तथा पार्टीभित्रको नीतिगत बहसमा समेत उनले गगन थापा नेतृत्वलाई सहयोग गरेको बताइन्छ।
कानुनी ज्ञान, नीतिगत अनुभव र राष्ट्रियस्तरको पेशागत संलग्नता भएका बुढाथोकीलाई दोलखा र नेपाली कांग्रेस दुवैका लागि आवश्यक व्यक्तित्वका रूपमा हेरिएको छ। उनको अनुभवलाई पार्टी संगठन सुदृढीकरण र जिल्लाको विकासमा उपयोग गर्नुपर्ने धारणा कांग्रेसका नेता–कार्यकर्ताबीच देखिएको छ।