बनेपा/नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल काभ्रेपलाञ्चोक जिल्ला कमिटीको अध्यक्षमा मनोज थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । बनेपामा सम्पन्न ९ औं जिल्ला अधिवेशन मार्फत थापाको नेतृत्वमा पदाधिकारीसहित ३५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको हो ।
अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा सुरेन्द्र शाह र पदम नारायण तामाङ, सचिबमा श्याम नेपाल, उपसचिवमा मनिष दुलाल र अम्बिका कार्की तथा कोषाध्यक्षमा सजल हुमागाईलाई चयन गरेको छ । नेकपा एकीकृत समाजवादीकेन्द्रीय सचिव सावित्रा भूसालद्वारा उद्घाटन गरिएको उक्त अधिवेशनलाई पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज लक्ष्मण लम्साल, पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य यशु लामा र पासाङ ढोल्मु तामाङ, जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाइ, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
अध्यक्षको पद शक्तिको लागि नभई सेवाको लागी भएको र आफ्नो नेतृत्व भाषणको लागि होइन, उत्तरदायित्वको अनुभूतिको लागि प्राप्त गरेको महसुस गरेको नवनिर्वाचित अध्यक्ष मनोज थापाले काभ्रे खबरलाई बताउनु भयो । आफुले पाएको जिम्मेवारीलाई स्वार्थको लागी नभई सङ्गठन र समाजको सेवामा समर्पित गर्ने प्रतिबधता गर्दै उहाँले हामी यस्तो समयको साक्षी भइरहेका छौँ, जहाँ विचारहरू बिकिरहेका छन्, आदर्शहरू गुम्दै गएका छन्, र सङ्गठनहरू नाम मात्रका बनेका छन्। यति बेला हाम्रो जिम्मेवारी अझ ठूलो, अझ गहिरो र अझ ऐतिहासिक भएको बताउनु भयो ।