
धुलिखेल / नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने बताएका छन्।
शनिबार काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनदेखि विकास निर्माणसम्मका उपलब्धिलाई इतिहासबाट मेटाएर नयाँ कथा बनाउन नसकिने स्पष्ट पारे। गणतन्त्र स्थापनापछिका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्न जोड दिँदै प्रचण्डले कमजोरी स्वीकार गर्दै उपलब्धिलाई तथ्यसहित जनतासामु प्रस्तुत गर्नुपर्ने बताए।
‘गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन। सामन्ती राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्त्वपूर्ण भूमिका खेलेका छौँ,’ उनले भने।
आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको पनि तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गर्दै प्रचण्डले पहिलो कार्यकालमा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार गर्ने महत्त्वपूर्ण राजनीतिक काम भएको उल्लेख गरे।