संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा हुने: सभामुख अर्याल

  • काभ्रे खबर
  • / रा.स्व.पा. /
  • २०८३ जेष्ठ २१, बिहिबार (१ महिना अघि)
  • १३७ पटक पढिएको

संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा हुने: सभामुख अर्याल

धुलिखेल/प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा हुने बताउनुभएको छ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधानले स्थानीय सरकारलाई प्रदान गरेका अधिकार, जिम्मेवारी र अवसरहरूलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा रूपान्तरण गर्नु आजको साझा दायित्व भएको बताउनुभयो।
संघीय संसद स्थानीय सरकारका अनुभव, सुझाव र आवश्यकताप्रति सदैव संवेदनशील रहेको उल्लेख गर्दै उहाँले संसदले निर्माण गर्ने कानुनहरूको सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने बताउनुभयो।
संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा नेपाल संघीयताको अभ्यासलाई थप परिपक्व, उत्तरदायी र परिणाममुखी बनाउने चरणमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले संघीयताको सफलता कागजमा लेखिएका अधिकारबाट मात्र नभई ती अधिकारले जनताको जीवनमा ल्याएको परिवर्तनबाट मापन हुने स्पष्ट पार्नुभयो।
सभामुख अर्यालले संविधानको धारा २३२ बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वय संघीय शासन प्रणालीको आधारस्तम्भ भएको उल्लेख गर्दै यी मूल्यहरूको सफल अभ्यासले मात्र संघीयतालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने बताउनुभयो।
जिल्ला समन्वय समितिको भूमिका र औचित्यबारे भइरहेका लोकतान्त्रिक बहसलाई स्वाभाविक ठान्दै उहाँले वर्तमान अवस्थामा संविधानले दिएको भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै प्राथमिक दायित्व भएको बताउनुभयो। स्थानीय तहहरूबीच समन्वय, सरकारी आयोजनाको अनुगमन, विपद् व्यवस्थापन तथा असल अभ्यासहरूको आदानप्रदानका लागि जिल्ला समन्वय समितिको भूमिकालाई समयानुकूल थप सुदृढ र परिणाममुखी बनाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
सुशासनलाई आजको सबैभन्दा ठूलो जनअपेक्षाका रूपमा चित्रण गर्दै सभामुख अर्यालले लोकतन्त्र केवल निर्वाचनबाट मात्र नभई पारदर्शिता, जवाफदेहिता र इमानदारीबाट सुदृढ हुने बताउनुभयो। पछिल्लो समय विशेषगरी युवापुस्ताले सुशासनका लागि उठाएका आवाजहरूले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण प्रेरणा दिएको उहाँको भनाइ थियो।
काभ्रेपलाञ्चोक कृषि, पर्यटन, शिक्षा र संस्कृतिको अपार सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले स्थानीय तहहरूले स्वास्थ्य, डिजिटल सुशासन, जलवायु अनुकूलन तथा कृषि नवप्रवर्तनका क्षेत्रमा गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्नुभयो। विकासका उत्कृष्ट अभ्यासहरू प्रतिस्पर्धाको विषय नभई साझेदारी र सिकाइको माध्यम हुनुपर्ने तथा एक पालिकाको असल अभ्यास अर्को पालिकाका लागि प्रेरणा बन्नुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा सभामुख अर्यालले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तह, विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने जिल्ला सुरक्षा समिति तथा प्रतिनिधिसभा सदस्यहरू मधुकुमार चौलागाईं, बदनकुमार भण्डारी र राम लामालाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले विपद्को मार खेपेको काभ्रेपलाञ्चोक पुनर्निर्माण र पुनरुत्थानको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक, दिगो समृद्धिको साझा अभियान’लाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस