
पनौती/काभ्रेको पनौती नगरपालिका वडानम्बर ५, श्रीखण्डपुरमा रहेको सेन्टलम एल्बम एकेडेमीमा कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले उद्घाटन गर्नुभएसंगै स्पोर्टस् मिट–२०८२ शुरु भएको छ ।
बुधवारदेखी तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विभिन्न ६७ इभेन्टमा ३२७ जना विद्यार्थीले प्रतिश्पर्धा गर्ने विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यस प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले नगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिका नगरप्रमुख भण्डारीले खेल मानव जीवनमा अभिन्न अंगको रुपमा रहेकाले यसलाई पढाईसँगसँगै अघि बढाउन विद्यार्थीलाई अनुरोध गर्नुभयो । उहाँले स्कुलले बेलाबेलामा यस्ता प्रतियोगिता गरेर आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भएको बताउनुभयो ।
यस्तै पनौती वडानम्बर ५ का वडाध्यक्ष बिनोद खत्रीले खेलकुद विद्यार्थीको मात्र नभएर सबैको स्वास्थ्यका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले वडाले खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय संचालक समितिका अध्यक्ष अमन पोटे श्रेष्ठले विद्यालयले पढाइ र खेलका साथै अन्य अतिरिक्त क्रियाकलापका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि यसलाई नरोक्ने बताउनुभयो ।
विद्यालयका चार सदनका ६७ स्पर्धामा ३२७ पदकका लागि विद्यार्थीहरु सहभागि हुनेछन् । यसले शीर्ष भागमा बस्ने झण्डाको टुङ्गो समेत लाग्नेछ ।
जिल्लामा आफूलाई फरक ढङ्गले उत्कृष्ट रुपमा प्रस्तुत गरेको विद्यालयले अतिरिक्त र खेलकुदमा पनि आफूलाई फरक रुपमा उम्भाउन सफल भएको छ ।
विद्यालय प्राङ्गणमा रहेको चारवटा झण्डाहरु पदक विजेताको आधारमा फेर्ने परम्परा रहेको विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले उल्लेख गर्नुभयो । उहाँले यसले विद्यार्थीबीच एकता, प्रतिस्पर्धाको भावनाको विकास गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसले विद्यालय स्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितालाई सहयोग गर्ने विश्वास विद्यालयले लिएको छ । सोही मापदण्डमा प्रतियोगिता संञ्चालन भएका छन् ।