प्याब्सन काभ्रेको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय फुटसल प्रतियोगिता–छात्रातर्फ काभ्रे सेकेन्डरी स्कुल, बनेपा प्रथम

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८३ श्रावण १२, मंगलबार (२ हप्ता अघि)
  • ९९ पटक पढिएको

प्याब्सन काभ्रेको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय फुटसल प्रतियोगिता–छात्रातर्फ काभ्रे सेकेन्डरी स्कुल, बनेपा प्रथम

धुलिखेल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाभरका ४० विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता श्रावण ११ गते छात्रतर्फ तथा श्रावण १२ गते छात्रातर्फ सञ्चालन गरिएको थियो। छात्रतर्फ ३९ टोली र छात्रातर्फ ३५ टोलीले प्रतिस्पर्धा गरेका थिए। समापन समारोहका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसी रहनुभएको थियो। कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
छात्रतर्फको प्रतिस्पर्धामा बेलर इन्टरनेसनल स्कुल, बनेपा प्रथम भएको छ। काभ्रे इङ्लिस सेकेन्डरी स्कुल, पनौती दोस्रो तथा गोल्डेन सिद्धार्थ स्कुल, धुलिखेल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
त्यसैगरी छात्रातर्फ काभ्रे सेकेन्डरी स्कुल, बनेपा विजेता बनेको छ। काभ्रे इङ्लिस सेकेन्डरी स्कुल, पनौती उपविजेता तथा नवरत्न इङ्लिस सेकेन्डरी स्कुल, पनौती तृतीय भएका छन्।
प्रतियोगिताको अतिरिक्त क्रियाकलाप संयोजन चन्द्रप्रसाद ताजपुरियाले गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।
आयोजकले विजेता तथा उपविजेता टोलीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक मण्डल, प्रायोजक, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस