रोशिको दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १२, बुधबार (१ हप्ता अघि)
  • ७६ पटक पढिएको

रोशिको दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान

नेपालका दुर्गम गाउँहरुलाई उज्यालो बनाउने उद्देश्यले चिनियाँ सहयोगमा ‘गाउँ उज्यालो बनाउँ’ परियोजना सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका, ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा यो परियोजना सुरु गरिएको हो । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ का दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सोलार बत्ती जडान गरिएको छ। यस परियोजनाले नेपालका दुर्गम गाउँहरूमा सोर्य ऊर्जामार्फत् उज्यालो पुर्‍याइरहेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानरकारी दिइएको छ ।

सौर्य ऊर्जा अनुदान कार्यक्रममार्फत् गाउँलेहरूको जीवनस्तरमा सुधार गर्ने, बालबालिकाको पठनपाठनमा सहजता ल्याएर शैक्षिक विकासलाई बढावा दिने तथा नेपालमा चीनको निरन्तर सहयो र परोपकारी अभियानलाई अघि बढाउने प्रयास गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपालले लामो समयदेखि दुर्गम क्षेत्रहरूमा विद्युत् अभावको सामना गरिरहेको छ। रातको समयमा बत्तीको अभावले गाउँलेहरूको दैनिक जीवन, शिक्षा र सुरक्षा चुनौती हुन गरेका छन् । उज्यालो अभावले दैनिक क्रियाकलापमा बाधा पुर्‍याउने मात्र होइन, बालबालिकाको उज्यालो भविष्य सुरक्षित गर्ने सम्भावनालाई कमजोर बनाउने भएकाले त्यसलाई हटाउन यो अभियान चलाइएको बताइएको छ ।
पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ दूतावासका काउन्सुलर सि वाङले दुवै देशका नागरिकको सोच एकै भएकोले साथ साथै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले बाढी र पहिरो प्रभावित गाउँमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सरसफाइका सामाग्री पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले अझै प्रशारण लाइन नपुगेको गाउँमा गरिएको रचनात्मक सहयोगको लागि आभार प्रकट गर्दै निरन्तरताको कामना गरे । उक्त सहयोगले स्थानीय, स्कुले बालबालिका र साना उद्यमी महिलालाई अझै सहयोग पुगेको बताए । २०८१ असोज १० देखि १२ गतेको अबिरल बर्षापछिको बाढी र पहिरोको कारण रोशीमा १२ जनाले ज्यान गुमाएको, ५ सय ४ घरधुरी पूर्ण क्षति हुनुका साथै २५ सय ४४ घरधुरीका खेतबारी र पशुपंक्षी नष्ट भएको भन्दै विपद्पछिको पुनर्निर्माणमा सघाउन काउन्सुलरमार्फत दुतावासलाई अनुरोध गरे ।

रसुवा जिल्लाको आमा छोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले चीन सरकारले यसअघि भुकम्प लगायतका विपदमा पनि सहयोग गरेको स्मरण गर्दै गाउँपालिकाले आफ्नो बजेटबाट गर्न नसक्ने सहयोग गरेको भन्दै आभार प्रकट गरिन् ।

छोङछिङ ह्वायान टेम्पलका पर्यवेक्षक मास्टर दु आङले बौद्ध धर्मावलम्वीले अरुको दुख देख्न नसक्ने भन्दै सहयोग गरिएको भन्दै यस्ता कार्यले विश्वमा शान्ती ल्याउने र एकतावद्ध बनाउने बताए ।

चीनको छोङछिङ नगरपालिका ह्वायान सांस्कृतिक र शैक्षिक फाउण्डेसनका सचिव दाओ जियानले ग्रामिण भेगका सबै विद्यालयमा सफा खानेपानीको लागि सहयोग गर्ने अपेक्षा गरे ।

‘गाउँ उज्यालो बनाउँ’ परियोजनाका नेपाल प्रतिनिधी मानबहादुर तामाङले अझै पनि वत्तीको सुविधा नभएको ग्रामिण भेगमा सहयोग गरेको चीन र त्यहाँको टेम्पललाई धन्यवाद दिदैँ यसले नेपाल र चीनविच सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका बुद्ध महर्जनले राजधानीसँगै भएर पनि ७ बर्षदेखि वत्तीका अभावमा रहेका परिवारलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।
कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा(ज्वाला), नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य इश्वरी ओझा, रोशी वडा नं ११ का वडा अध्यक्ष लालकुमार पाख्रीनलगायतको उपस्थिति थियो ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस