‘आर्थिक संकट र सहकारीलाई चौतर्फी प्रहार भइरहेपनि हामीले शेयर सदस्यलाई सन्तुष्ट बनाएका छौं’

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८१ माघ ९, बुधबार (४ हप्ता अघि)
  • १०२३ पटक पढिएको

‘आर्थिक संकट र सहकारीलाई चौतर्फी प्रहार भइरहेपनि हामीले शेयर सदस्यलाई सन्तुष्ट बनाएका छौं’

तपाईको सहकारीको परिचय दिनु पर्दा ?

२०५१ साल माघ १४ गते ४१ जना शेयर सदस्य र ३२,५०० रकमबाट विजारोपण भएको सहकारी हो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, काभ्रेपलाञ्चोक । शुरुवातमा एक अर्काको आर्थिक समस्या समाधान गर्न र आर्थिक संकट पर्दा साहुकारहरुकोमा जानुपर्ने वाध्यताको अन्त्य गर्ने उद्देश्यले सञ्चालन भएको थियो । संस्था दर्ता हुँदा टौखाल गा.वि.स.को वडा नं. १ र २ कार्यक्षेत्र रहेको थियो ।

संस्थाले बिस्तारै वृद्धि र विकासको गति लिईरहँदा समुदायमा आधारित रही संस्थाका शेयर सदस्यहरुलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरेकोले २०६५ सालमै राष्ट्रिय सहकारी महासंघ लिमिटेडबाट उत्कृष्ट सहकारी व्यवसायको पुरस्कार प्राप्त गर्न सफल भयो । २०६८ सालमा नेफ्स्कूनबाट नेपालभरीको सहकारी संस्थामध्ये उत्कृष्ट संस्था र उत्कृष्ट व्यवस्थापकको पुरस्कार यस संस्थाले प्राप्त ग¥यो । २०७३ सालमा राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट बागमती प्रदेशको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत हुन सफल भयो । २०७५ सालमा नेफ्स्कूनबाट पुनः उत्कृष्ट व्यवस्थापकको पुरस्कार प्राप्त गर्न सफल भयो भने २०७६ सालमा बागमती प्रदेश सरकारबाट प्रदेशको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत हुनु सफल भयो ।

२०७८ सालमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडबाट प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भयो भने २०८० सालमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ लिमिटेड र पनौती नगरपालिकाबाट उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको संस्था हो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. । अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा २०६४ सालदेखि सहभागी भई २०६८ सालमा एशियाली स्तरको एक्सेस ब्रोन्ज लेभलको ब्राण्ड प्राप्त गर्न सफल भयो । त्यसपछि २०७३ सालमा एक्सेस सिल्भर लेभलको ब्राण्ड प्राप्त गर्न सफल भई निरन्तर ५ वर्षसम्म नविकरण गराउन सफल भयो ।

२०७७ सालदेखि विश्वको अर्थतन्त्रनै खल्बल्याउने गरी आएको कोभिड १९ र यसको प्रभावले संस्थाका शेयर सदस्यहरु र उहाँहरुको व्यापार व्यवसायलाई नै प्रभावित पार्दाको अवस्थामा समेत संस्थाले एक्सेस ब्राण्डको कार्यक्रममा सहभागिता जनाईरहेकै छ ।

बागमती प्रदेशको ६ वटा जिल्ला (काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर र सिन्धुली) कार्यक्षेत्र रहेको यस संस्थाले कार्यक्षेत्र भित्र १८ वटा सेवाकेन्द्रहरु मार्फत सदस्यलाई बचत, ऋण, बिमा तथा विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ । संस्थामा हाल ६०,२७३ जना शेयर सदस्यहरु आवद्ध भई वित्तीय सेवा लिईरहेका छन् । १३५ जना कर्मचारीहरु यस संस्थामा प्रत्यक्ष रोजगारीमा रहेका छन् भने ९ जना कर्मचारीहरु अंशकालिन रुपमा कार्यरत रहेका छन् ।

कस्तो छ आर्थिक कारोबार ?

हालको आर्थिक संकट र सहकारी संस्थाहरुलाई चौतर्फी प्रहार भईरहेको अवस्थामा समेत संस्थाले शेयर सदस्यहरुलाई सन्तुष्ट बनाई वित्तीय कारोबार गर्न सक्षम रहेको छ । हालको अवस्था हेर्ने हो भने, संस्थाले शेयर सदस्यहरुबाट ४ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने, ४ अर्ब ३५ करोड शेयर सदस्यहरुलाई नै ऋण लगानी गरेको छ । गत आर्थिक वर्षमा शेयर सदस्यहरुलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्न सफल भयो । कोभिड १९ को प्रभावको कारण तरलता अभाव हुँदा समेत संस्थाले बचत फिर्ता र ऋण लगानी कहिल्यै रोक्नु पर्ने अवस्था आएन । वित्तीय क्षेत्र एकदमै तरल क्षेत्र हो । त्यस बारेमा हामी सुसूचित छौं । त्यसै अनुरुप वित्तीय अवस्थाको व्यवस्थापन गरेका छौं । संस्थाको आर्थिक कारोबार राम्रो छ, प्रत्येक महिना संस्थाका आर्थिक गतिविधि सबै कार्यालयहरुमा टाँस गर्ने गरेको र संस्थाको वेबसाईटमा वित्तीय विवरण अद्यावधिक गर्ने गरेका छौं ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा छन् । सहकारीले प्रवाह गरेको कर्जाको व्याजसमेत तिर्न धौ धौ छ । यस्तो अवस्थामा सहकारीले केही सहुलियतका योजना अघि सारेको छ की ?

संस्थाले सदैब सदस्य हितमा निर्णय गर्ने गरेको छ र सोही बमोजिम कार्यान्वयन हुने गरेको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएका शेयर सदस्यहरुलाई संस्थाले व्यवसाय निरन्तरता ऋण उपलब्ध गराएको थियो । २०८१ असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण प्रभावित भएका हाम्रा शेयर सदस्यहरुलाई लक्षित गरी अस्थाई बसोबासका लागि शुन्य व्याजदरमा र पुनस्र्थापनाका लागि न्यून व्याजदरमा ऋण लगानी गर्ने व्यवस्था गरिएको छ । यसै गरी संस्थाले हरेक संकटमा सदस्य संरक्षणकै लागि योजना निर्माण तथा कार्यान्वयन गर्दै आएको छ ।

वस्तु तथा सेवामा कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?

४.५ देखि ९ प्रतिशतसम्म व्याजदर कायम भएका १५ प्रकारका विभिन्न शिर्षकका वचतहरु, ९.५ देखि १४.५प्रतिशतसम्म व्याजदरमा २१ शिर्षकहरुमा ऋण लगानी, विभिन्न कम्पनीहरुका रेमिटेन्स सुविधा उपलब्ध, युटिलिटी बिल्स पेमेण्टको सुविधा (मोबाईल रिचार्ज, ल्याण्ड लाईन टेलिफोनको बिल भुक्तानी, डिसहोमको रिचार्ज, विद्युत प्राधिकरणको बिल भुक्तानी लगायत), जीवन तथा निर्जिवन बिमा, स्वास्थ्य बिमा, वित्तीय परामर्श तथा वित्तीय साक्षरता, प्रविधि साक्षरता जस्ता सेवाहरु मुख्य कार्यालय तथा सेवा केन्द्रहरु मार्फत बिहान ९ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म ३६२ दिन काउण्टरका सेवाहरु सदस्यहरुलाई उपभोग गर्न सकिने सुविधा उपलब्ध गराईएको छ । युवा सदस्यहरु आकर्षित हुनेगरी सेवा पु¥याउन ए.टी.एम. सेवा, मोबाईल बैंकिङ सुविधा, क्यू. आर. स्क्यान स्ट्याण्ड र क्यू. आर. स्क्यान गरी भुक्तानी गर्ने सुविधा उपलब्ध गराईएको छ । यूनियन पे र एस.सि.टि. नेटवर्क भित्रका ए.टि.एम. मेशिनहरुबाट संस्थाका शेयर सदस्यहरुको बचत फिर्ता झिक्न सकिने सुविधाका लागि ए.टि.एम. कार्ड उपलब्ध गराउनुका साथै संस्थाकै ए.टि.एम. मेशिन मार्फत समेत शेयर सदस्यहरुलाई रकम झिक्न सक्ने सुविधा उपलब्ध गराईएको छ । यसैगरी कार्यक्षेत्र भित्रका विभिन्न समुदायमा शिपमूलक तथा सदस्यहरुको व्यवसाय विकासका लागि न्यून व्याजदरमा लगानी गरी स्वरोजगार बनाउँदै आएको छ । संस्थाले पशु धितोमा ऋण लगानी गरी पशुपालनको क्षेत्रमा समुदायलाई स्थापित गराउने प्रयास पनि गरिरहेको छ ।

सदस्यहरुलाई उपलब्ध गराएको बचतको प्रकारहरुमध्ये उपदान बचत, संक्रान्ती बचत, सुनौलो अवसर बचत सदस्यहरुमाझ प्रचलित र सदस्यहरुले रुचाएको बचतका शीर्षकहरु हुन् । यी बचतका शीर्षकहरुमा उच्चतम व्याजदर प्रदान गरिएको छ र सदस्यहरुले सहज रुपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

कर्जा प्रवाहमा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?

सर्वप्रथम ऋण लगानी गर्दा ऋण माग गर्ने सदस्यको परियोजना के हो र कस्तो छ ? ऋण माग गर्ने सदस्यले माग गरेको रकम बराबरको किस्ता भुक्तानी गर्न सक्छ ? वा सक्दैन । भरपर्दो आम्दानीको श्रोत के के छन् ? ऋण माग गर्ने सदस्यको अघिल्लो कारोबारको अवस्था के छ ? अन्य बैंक वित्तीय संस्था र सहकारीहरुमा ऋण छ वा छैन ? छ भने भुक्तानी कसरी गरेको छ ? धितोको अवस्था के कस्तो छ ? मुल्यांकनकर्ताबाट मुल्यांकन गराउँदा धितो योग्य छ की छैन ? ऋण माग गर्ने सदस्यको परिवार ऋण लिन सहमत छन् की छ्रैनन् ? भन्ने कुराहरुमा सुनिश्चित भए पश्चात मात्र ऋण लगानीको प्रकृया गर्नुपर्छ । ऋण लगानी गर्दा ऋणी सदस्यसँग गरिने कानूनी कागजातहरुमा कुनै कमी कमजोरी नहुने गरी गर्नुपर्छ ।

कर्जा लगानी कस्ता क्षेत्रमा बढी लक्षित छन् ?

सदस्यहरुलाई ऋण लगानी गर्दा उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा बढी लगानी गर्नुपर्छ । किनकी सदस्यले त्यही परियोजनाबाट रोजगारी प्राप्त गर्दछन् र समुदायका अन्य व्यक्तिहरुलाई समेत रोजगारीको अवसर प्राप्त हुन्छ । यस्ता किसिमका परियोजनाले समुदायलाई नै लाभ हुन्छ भने अनुत्पादक क्षेत्रको लगानीले सदस्य स्वयंलाई पनि अन्य श्रोतबाट कमाई गरी ऋणको किस्ता भुक्तानी गर्नुपर्ने हुँदा अनुत्पादक क्षेत्रको लगानीले सदस्यलाई समेत आर्थिक समृद्धि हँुदैन । यस संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा बढी छ । संस्थाले ऋण लगानीलाई विविधीकरण गर्दै ऋण नीतिमै उत्पादनमूलक र अनुत्पादक क्षेत्र छुट्याई पोर्टफोलियो व्यवस्थापन गरिएको छ ।

कर्जा कसरी खराब बन्न पुग्छ?

सदस्यको परियोजना सफल नहुँदा ऋण खराब बन्न पुग्छ । संस्थाले ऋण लगानी गर्दा पर्याप्त विश्लेषण नगरी लगानी गरियो भने, सदस्यको आम्दानीको श्रोतहरुमा क्षति भयो भने, विभिन्न किसिमका प्रकोप तथा भवितव्य साथै राज्यले विभिन्न समयमा परिवर्तन गर्ने नीति तथा योजनाले समेत सदस्यहरुको व्यवसाय प्रभावित भई ऋणको भाखा नाघ्न सक्छ ।

कति छ खराब कर्जा ?

यस संस्थामा अहिले ६ प्रतिशत भाखा नाघेको ऋण छ । हामी उक्त ऋण असुली गर्न कानूनी प्रकृया समेत गर्ने तयारीमा छौं । समितिबाट निर्णय भैसकेको छ । केही ऋणीहरुले २।४ दिनको समय माग गरेकाले प्रकृया केही दिन रोकेका मात्र हौं । शेयर सदस्यहरुकै बचत परिचालन गरी सदस्यहरुलाई नै ऋणको रुपमा लगानी गरेका हौं भन्ने राम्रो हेक्का छ । त्यसैले लगानी गरेको ऋण असुली गर्नुपर्छ असुलीका लागि संस्थाले कुनै कसर बाँकी राख्दैन हामीले विगतमा पनि धितो लिलाम तथा कानूनी प्रकृया अवलम्बन गरी असुली समेत गरेका छौं ।

सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल, किन ? समुदायमा आधारित संस्थाले यस्ता समस्या झेल्नु परेको छ ?

केही सहकारी संस्थाहरु आफ्नै गतिविधिले समस्यामा परे भने केही सहकारी संस्थाका सदस्यहरुले एकै पटक बचत फिर्ता माग गर्दा फिर्ता दिन नसकेर समस्यामा परेका हुन् । यद्यपि समग्र सहकारीको संख्यात्मक रुपमा हेर्ने हो भने २।३ प्रतिशत सहकारी संस्थाहरुमा समस्या आएको हो । समुदायमा आधारित भई सञ्चालित भएका कुनै पनि सहकारी संस्थाहरुमा समस्या देखिएको छैन र आउँदा पनि आउँदैन । सहकारी संस्थामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सदस्यको विश्वास हो । सदस्यको विश्वास कुन बेला प्राप्त हुन्छ भने संस्थाले सञ्चालन गर्ने गतिविधि तथा संस्थाको सञ्चालक समिति र व्यवस्थापनको पारदर्शिता, आचरण साथै जवाफदेहिता नै प्रमुख कुरा हो । समुदायमा आधारित सहकारी संस्थाहरुमा सदस्यहरुले मेरो संस्था हो भन्ने विश्वास जगाउन सफल हुने खालका विस्तारित मञ्चका कार्यक्रमहरु सञ्चालन गरेका हुन्छन् । सदस्यहरु माझ पारिवारिक सम्बन्ध विकास गरेका हुन्छन् । यसले सदस्य र समुदायको विश्वास संस्थाप्रति जागृत हुन्छ ।

सहकारीमा पनि त विकृती आइरहेका छन् । वित्तीय सुशासनका लागि के के कदम चाल्नु भएको छ ?

सुशासनमा सञ्चालन गर्नका लागि संस्थाले सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश सहकारी ऐन २०७६ र नियमावली २०७६ लगायत राज्यको कानूनहरुलाई अंगिकार गरी संस्था विनियम तयार गरेको छ । सोही विनियम र ऐन कानूनका आधारमा ६१ वटा नीति तथा कार्यविधि छन् जस अनुसार संस्थाका गतिविधिहरु सञ्चालन हुन्छन् । हरेक गतिविधिमा मेकर र चेकरको व्यवस्था गरिएको छ । नियामकीय निकायबाट समय समयमा अनुगमन तथा निरीक्षण गरी प्राप्त सुझावहरु उपर कार्यान्वयन गर्ने गरिएको छ । नेफ्स्कूनले अनसाईट र अफसाईट सुपरीवेक्षण गर्ने गरेको छ । संस्थाको लेखा सुपरीवेक्षण समितिले त्रैमासिक रुपमा अनुगमन गरी सुझावहरु दिने गरेको छ । त्यसैगरी संस्थाले चाटर्ड एकाउण्टेन्ट संस्थाबाट चौमासिक रुपमा आन्तरिक लेखा परीक्षण गराउने गरेको छ । बाह्य लेखापरिक्षकले अर्धवार्षिक रुपमा लेखा परीक्षण गरी प्रारम्भिक प्रतिवेदन दिने गरेको र सोही प्रतिवेदनहरुका आधारमा सुधार गर्दै कार्य गर्ने गरिएको छ ।

सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ सहकारीले ?

समृद्धि निर्माण हुने खालका बचत र ऋणका प्रोडक्टहरु ल्याउनुपर्छ । ऐच्छिक बचतका प्रोडक्टहरुले सदस्यको समृद्धि निर्माण गर्दैन । सदस्यहरुलाई नियमित बचत गर्नुपर्ने खालको प्रोडक्टहरुको विकास गर्नुपर्छ । ऋणका प्रोडक्टहरु उत्पादनमूखि बनाउनु पर्छ जसले सदस्यलाई समृद्ध बनाउँछ र समुदायलाई रोजगार बनाउछ ।

सहकारीमा जगेडा कोष जथाभावी चलाउन पाइँदैन, संस्थागत विकासमा मात्र चलाउन, बढाउन पाइन्छ भनिन्छ लागू भएको छ तपाईकोमा?

सहकारी संस्थाको जगेडा कोष भनेको संस्थाको आफ्नो सम्पत्ती हो । संस्था खारेज हुँदा पनि उक्त कोषको रकम सदस्यहरुलाई वितरण गर्नुपर्दैन । यस संस्थाले शुरु देखिकै रणनैतिक योजनामा जगेडा कोष वृद्धि कै रणनीति लिएको छ । सोही अनुरुप कार्यान्वयन हँुदै आएको पनि छ । संस्थाले जगेडा कोष मासेको छैन ।

आफ्ना सदस्यहरुलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाईदिने सहकारीको काम र कर्तव्य हो, संस्था धनी बनाउने होइन भनिए पनि त्यसो हुन सकेको छैन भन्ने आरोप छ नि सहकारीहरुलाई?

सदस्यहरुलाई सेवा दिन पहिला संस्था जोगिन पर्छ । संस्था रहेमात्र सदस्यहरुलाई सेवा सुविधा दिन सक्छ । पहिलो प्राथमिकतामा संस्था हुनुपर्छ र दोस्रो प्राथमिकतामा सदस्य, त्यसैले सहकारीलाई आरोप लागेको हुनसक्छ । तर सहकारी संस्था नाफामूखी होइन सेवा मूखि नै हो । संस्था सञ्चालन गर्दै जाँदा प्राप्त हुने नाफाको केही अंश राज्यलाई भुक्तानी गर्छ, केही अंश संस्थाले राख्छ र केही अंश सदस्यहरुलाई वितरण हुन्छ । यसले त्रिपक्षीय नै फाईदा हुने हो । नकी संस्थालाई मात्र ।

सामाजिक उत्तरदायित्व वहन गर्नेमा तपाईको सहकारी कत्तिको लागि परेको छ ? पछिल्ला गतिविधि केही छन् ?

सहकारीको सिद्धान्तमा नै सामाजिक उत्तरदायित्व भन्ने सिद्धान्त हुन्छ । सहकारी भनेको सदस्यको मात्र हैन, समुदायकै हो । त्यसैले संस्थाको समुदायप्रति दायित्व रहन्छ । संस्थाले सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, धार्मिक तथा सामाजिक कार्यहरुमा समुदायलाई सहयोग लगायतका कार्यहरु गर्दै आएको छ ।

नेपाल सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेश र नेपाल राष्ट्र बैंकले सहकारी संघ संस्थालाई जारी गर्न लागेको निर्देशनको विषयमा तपाईको धारणा के छ ?

नेपालमा विद्यमान सहकारी ऐन संशोधनका लागि अध्यादेश जारी भएको छ र सोही अध्यादेशको आधारमा नेपाल राष्ट्र बैंकले सहकारी संघ संस्थालाई निर्देशन तथा मापदण्ड जारी गर्न लागेको छ । अध्यादेश र मापदण्डमा धेरै कुराहरु सकारात्मक छन् । सहकारी संस्थालाई गुणस्तरीय बनाउन अध्यादेश र मापदण्डले सकारात्मक बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुनेमा दुई मत छैन । तर राज्यले सहकारी संस्थाको कार्यक्षेत्रको आधारमा बचतको सिमा तोक्ने, सहकारी संस्थाको सञ्चालक समितिको संख्या तोक्ने लगायतका विषयहरु सान्दर्भिक छैन । ऋण लगानीको सिमा प्राथमिक पूँजी कोषको आधारमा तोकिएको छ भने बचतको सिमा पनि प्राथमिक पूँजी कोषको आधारमा नै तोक्नु सान्दर्भिक हुन्छ । अहिले तोकिएको बचतको सिमाका कारण सहकारी संस्थाहरुलाई समस्यामा पार्न सक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस