धुलिखेल / अंशबण्डाको विषयमा विवाद हुँदा आफ्नै बुबाको हत्या गर्ने नमोबुद्ध नगरपालिका –७ बस्ने ४४ वर्षीय रामलाल श्रेष्ठलाई शनिवार प्रहरीले सार्वजनिक गरेको छ ।
नमोवुद्ध नगरपालिका वडा नं ७ धारापानी स्थित पुजारी थुम्कामा ७४ बर्षीय बलबहादुर श्रेष्ठको हत्या अभियोगमा उनका जेठा छोरा रामलाल पक्राउ परेका छन् ।
कार्तिक ८ गते बाबुको हत्या गरेर फरार रहेका रामलाललाई कार्तिक २३ गते प्रहरीले पक्राउ गरी २५ गते सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेका अनुसार, कार्तिक ८ गते खाना खाएपछि सुत्न जाने क्रममा बलबहादुर र रामलालविच अशंवण्डाका विषयमा विवाद भएको थियो । पटक पटक अंशको कुरा गर्दा रामलाललाई बलबहादुरले अरु दुई भाई पनि राखेर अंशवण्डा गर्ने बताउँदै आएका थिए ।
मादक पदार्थ सेवन समेत गरेका रामलालले विवाद भएपछि बलबहादुरलाई मुक्का प्रहार गरेका थिए । त्यसपछि हसिँया प्रहार गर्दा पनि बाबुले छेकेपछि उनले ढोकामा प्रयोग भएको फलामको गलले प्रहार गरी पछि सोही गलले घाँटी थिचेका थिए ।
घलेका अनुसार, घाँटी थिचेर बेहोस भएपछि रामलालले बलबहादुरलाई खाटमा राखिदिएका थिए । त्यसरात स्थानीय वनमा गएर लुकेका रामलाल भोलीपल्ट पुन बाबु मरे नमरेको यकिन गर्न घर आएका थिए । बाबु मरेको यकिन भएपछि नजिकै ढोडमा लुकेका उनलाई तिर्खा लागेर कुवामा आएको बेला प्रहरीले पक्राउ गरेको हो ।
घलेका अनुसार, पछिल्लो ६ महिनाको अवधीमा रामलालले बलबहादुरलाई २ पटक कुटपिट गरेका थिए । एक पटक अस्पताल भर्ना नै हुनुपर्ने गरी कुटपिट गर्दा प्रहरी नियन्त्रणमा रहेका रामलाललाई ‘आफूलाई खाना पकाएर खुवाउने छोरा’ भन्दै बलबहादुरले जमानीमा छोडाएका थिए ।