काठमाडौं । सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बतएका छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई बलियो बनाउनु पर्ने बताए।
केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेको प्रति उनले आपत्ति जनाए। उनले यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए।
यस्तै, उनले सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए।
‘कोशी किनार क्षेत्रमा हरेक वर्ष जनताले सास्ती खेप्दै आएका छन्। हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावारको त्रासले किसान गोठालो गर्न सक्दैनन् ,त्यसैले जनावार र किसानको बाली संरक्षणमा ध्यान दिन आग्रह गर्दछु,’ उनले भने।
उनले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थागरी अस्पताल व्यवस्थापन सञ्चालनमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए।
तिलाठी कोइलाडीमा जित्तापुल बनाउन रु एक करोड बजेट विनियोजन भएर डिपिआरसमेत तयार भइसके पनि तीन वर्षसम्म पुलको टेण्डर प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल पुल निर्माणको काम अगाडि बढाउन उनले माग गरे।